पोखरा सार्वजनिक पुस्तकालय

ज्ञान, सूचनारआजीवन सिकाइको विश्वसनीय सार्वजनिक केन्द्र

हाम्रो परिचय

पोखरा सार्वजनिक पुस्तकालय वि.सं. २०४९ मा स्थापित स्वतन्त्र, स्वायत्त, गैरनाफामूलक तथा गैरराजनीतिक सार्वजनिक संस्था हो। तीन दशकभन्दा बढी समयदेखि यसले विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता, बालबालिका, युवा, ज्येष्ठ नागरिक तथा आम समुदायका लागि अध्ययन, अनुसन्धान र आजीवन सिकाइको साझा थलोका रूपमा सेवा प्रदान गर्दै आएको छ। ज्ञानमा समान पहुँच प्रत्येक नागरिकको बौद्धिक विकास र समृद्ध समाजको आधार हो भन्ने विश्वासका साथ पुस्तकालयले गुणस्तरीय अध्ययन वातावरण, विश्वसनीय सूचना सेवा, पठन संस्कृति प्रवर्द्धन तथा सामुदायिक सिकाइका अवसर विस्तारमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ।

हाम्रो यात्रा

पोखरामा सार्वजनिक पुस्तकालय स्थापनाको परिकल्पना सात दशकअघि गरिए तापनि नागरिक अग्रसरता, स्थानीय सरकार र शिक्षाप्रेमी समुदायको साझा प्रयासबाट वि.सं. २०४९ मा आएर पोखरा सार्वजनिक पुस्तकालयका रूपमा संस्थागत रूप ग्रहण गर्‍यो। करिब ७०० पुस्तकबाट सुरु भएको यो यात्रा आज १२,००० भन्दा बढी पुस्तक, पत्रपत्रिका तथा डिजिटल सूचना–स्रोतसहितको आधुनिक सार्वजनिक ज्ञान केन्द्रमा रूपान्तरित भएको छ। विकास यात्राका क्रममा पुस्तकालयले विभिन्न स्थानबाट सेवा सञ्चालन गर्दै अन्ततः पोखरा महानगरपालिकाको सहयोगमा पृथ्वीचोकस्थित आधुनिक पोखरा घरमा स्थायी स्थान प्राप्त गरेको छ। यसले पुस्तकालयको संस्थागत स्थायित्व, सेवा विस्तार र दीर्घकालीन विकासको नयाँ अध्याय प्रारम्भ गरेको छ।

दृष्टिकोण, ध्येय र उद्देश्य

दृष्टिकोण (Vision)

पोखरा सार्वजनिक पुस्तकालयलाई ज्ञान, सूचना, डिजिटल पहुँच र आजीवन सिकाइको अग्रणी सार्वजनिक केन्द्रका रूपमा स्थापित गर्ने।

ध्येय (Mission)

समावेशी, प्रविधिमैत्री र दिगो पुस्तकालय सेवामार्फत सबैका लागि गुणस्तरीय ज्ञान र सूचना पहुँच सुनिश्चित गर्ने।

उद्देश्य (Objective)

गुणस्तरीय अध्ययन वातावरण, आधुनिक पुस्तकालय तथा डिजिटल सूचना सेवा उपलब्ध गराउँदै पठन संस्कृति, सूचना साक्षरता र आजीवन सिकाइलाई प्रवर्द्धन गरी ज्ञानमा आधारित समावेशी समाज निर्माणमा योगदान पुर्‍याउने।

सेवा र कार्यक्रम

पोखरा सार्वजनिक पुस्तकालयले अध्ययन, अनुसन्धान र आजीवन सिकाइका लागि आवश्यक मुद्रित तथा डिजिटल स्रोतमा पहुँच उपलब्ध गराउँदै आएको छ। पुस्तकालयले ई–लाइब्रेरी, इन्टरनेट सुविधा, सन्दर्भ सेवा, लेखक–पाठक अन्तरक्रिया, पुस्तक समीक्षा, तालिम, कार्यशाला तथा बालबालिका र युवामुखी सिर्जनात्मक कार्यक्रममार्फत समुदायमा पठन संस्कृति, सूचना साक्षरता र ज्ञान साझेदारीलाई निरन्तर प्रवर्द्धन गर्दै आएको छ।

संस्थागत सहकार्य

स्थापनाकालदेखि नै पोखरा सार्वजनिक पुस्तकालयले आफ्नो उद्देश्य प्राप्तिका लागि विभिन्न सरकारी निकाय, स्थानीय तह, शैक्षिक संस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार र समुदायसँग सहकार्य गर्दै आएको छ। विशेषतः पोखरा महानगरपालिका पुस्तकालयको प्रमुख संरक्षक तथा दीर्घकालीन साझेदारका रूपमा निरन्तर साथमा रहेको छ। विभिन्न समयका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यले पुस्तकालयको पूर्वाधार विकास, स्रोत–सामग्री विस्तार, सेवा आधुनिकीकरण तथा संस्थागत सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्। भविष्यमा पनि ज्ञान र आजीवन सिकाइको साझा उद्देश्यका लागि सहकार्यलाई निरन्तर विस्तार गर्ने हाम्रो प्रतिबद्धता छ।

सुशासन र दिगोपन

पोखरा सार्वजनिक पुस्तकालय आफ्नै विधानबमोजिम सञ्चालित संस्था हो। संस्थाको नीति, योजना र समग्र व्यवस्थापनको नेतृत्व लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित व्यवस्थापन समितिले गर्दछ। दैनिक सेवा समर्पित कर्मचारी टोलीद्वारा सञ्चालन गरिन्छ भने समुदायको सहभागिता सदस्यता प्रणालीमार्फत निरन्तर सुदृढ हुँदै आएको छ।

संस्थाको दीर्घकालीन वित्तीय स्थायित्वलाई सुदृढ बनाउन अक्षयकोष स्थापना गरिएको छ। यसको क्रमिक विस्तारमार्फत पुस्तकालयलाई थप आत्मनिर्भर, उत्तरदायी र दिगो सार्वजनिक संस्थाका रूपमा विकास गर्ने अभियान जारी छ।

भविष्यको मार्गचित्र

डिजिटल रूपान्तरणसँगै पोखरा सार्वजनिक पुस्तकालयलाई आधुनिक, समावेशी र प्रविधिमैत्री सार्वजनिक ज्ञान केन्द्रका रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ। आगामी दिनमा डिजिटल पुस्तकालय सेवा, अन्तर्राष्ट्रिय ज्ञान–स्रोतमा पहुँच, अनुसन्धान सहयोग, सूचना प्रविधिमा आधारित सिकाइ तथा समुदाय–केन्द्रित कार्यक्रमलाई थप विस्तार गर्दै पुस्तकालयलाई गण्डकी प्रदेशकै अग्रणी सार्वजनिक ज्ञान केन्द्रका रूपमा स्थापित गर्ने दिशामा हामी निरन्तर अघि बढिरहेका छौँ।

हामीसँग जोडिनुहोस्

ज्ञानमा गरिएको लगानी समाजको सुन्दर भविष्यमाथिको लगानी हो। पोखरा सार्वजनिक पुस्तकालय सबैका लागि खुला सार्वजनिक संस्था हो। पुस्तकालयका सेवा, कार्यक्रम, सदस्यता वा साझेदारीमार्फत यस अभियानमा सहभागी भई ज्ञान, शिक्षा र आजीवन सिकाइको संस्कृतिलाई थप सुदृढ बनाउन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ।